• जेष्ठ २ २०८३, शनिबार

जग्गा विवादको बदला लिन प्रहरीको प्रयोग गरेर कस्तुरीको बिना राखेर ‘निर्दोष’ फसाउने प्रपञ्च

श्रावण २ २०७९, सोमबार

काठमाडौं । कस्तुरीको बिना प्रकरणमा मुछिएका शिव लिम्बुलाई उनकै साथीहरुले फसाएको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलीप घिमिरे, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला सम्मिलित छानबिन समितिले बुझाएको प्रतिवेदनमा निर्दोष व्यक्तिलाई फसाउन षड्यन्त्र गरिएको निष्कर्ष निकालेको हो ।

छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार लिम्बूलाई फसाउन प्रहरीको प्रयोग गरेको खुलेको छ। पाँचथरको चिलिडदिङ–४ का आदम भनिने सुभाष राई र गुल्मीको मदाने–३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठको मिलेमतोमा लिम्बूलाई फसाउन प्रहरी समेतको प्रयोग गरिएको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता सन्तोष सिंह राठौरले बताए ।

कुटपिटको विषयलाई लिएर राईले नारायण कार्की भन्ने कृष्ण श्रेष्ठसँग बाघको छाला, कस्तुरीको बिना राखेर लिम्बूलाई फसाएर बदला लिने भनि योजना बनाएको खुलेको छ। फसाउने योजनाअनुसार निरन्तर फलो गर्नेक्रममा असार २३ गते साँझ लिम्बूको मोटरसाइकलमा कस्तुरीको बिना राखेर प्रहरीलाई खबर गरिएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

लिम्बूको मोटरसाइकलको सिट मुनि बिना राख्न राईले श्रेष्ठलाई खटाएका थिए। सीसीटीभी फुटेजमा देखिएका बिना राख्ने व्यक्ति उनै श्रैष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ।

प्रहरीले लिम्बूसँग सोधपुछ गर्दा समेत राईसँग केही समयअघि झगढा परेको र फसाउने योजनासहित उनैले बिना रोखेको हुनसक्ने बताएका छन्। प्रहरीले लिम्बूलाई पक्राउ गर्दा समेत त्यतिबेला लिम्बूले आफू निर्दोष रहेको र फसाउने षड्यन्त्रसहित बिना राखेको भन्दै चिच्याएका थिए।

काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बूलाई फसाउने उनकै साथीहरुले योजनाबद्ध रुपमा लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलको सिट मुनि बिना राखेको निष्कर्ष निकालेको छ ।

गत असार २३ गते साँझ साढे ६ बजेको समयमा काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित शान्ति गोरेटोतर्फ जाने सडकमा रोकेर राखेको शिव लिम्बूको बुलेट मोटरसाइकलको सिट मुनिबाट प्रहरीले रातो रंगको झोलाभित्रबाट कस्तुरीको बिनाजस्तो सामान बरामद गरेको थियो ।