दार्चुला । अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउँछन् ।
पढाइ सामान्य साक्षर कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउँछन् । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो ।
खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी सुनाउँछन् ।
“एक महिना यार्सागुम्बा गरेर झण्डै चार लाख कमाइ भयो”, उनले भने, “जङ्गलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुप¥यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ ।”
यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन् । यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन् ।
दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा सङ्कलनमा समेत असर पर्यो । यस वर्ष यार्सागुम्बा वैशाखमै सङ्कलन भयो । सङ्कलन गरेकाहरुले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन् ।
अपिहिमाल–१ का ललित जाग्रीले भने, “एक महिना मेहनत गर्यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुपर्यो ? यार्सागुम्बा मात्र नभई सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन् ।”
यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन् । व्यापारी आफैँ घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन् । यस वर्ष व्यापारीले प्रतितोला १५ हजारदेखि १८ हजार हालेर यार्सागुम्बा खरिद गरेका छन् ।
विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन् । यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ । स्थानीय धनसिंह जाग्री जिल्लाभरिबाट अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको बतायँछन् ।
जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताउँछन् ।