काठमाडौं । चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र कामपा प्रमुख बालेन्द्र साहबीच आज चन्द्रागिरि नगपालिकामा भएको भेटवार्तामा फोहर व्यवस्थालगायत अन्य क्षेत्रमा सहयोग गर्दै थप सहकार्यसमेत गर्दै जाने विषयमा छलफल भएको छ । छलफलमा प्रमुख गिरीले भने, ‘फोहर व्यवस्थापन साझा समस्या भएकाले काठमाडौँ महानगरपालिका अवलम्बन गरेको नीतिलाई सधैँ साथ र सहयोग गर्न चन्द्रागिरि नगरपालिका प्रतिबद्ध छ । सकेसम्म नगर क्षेत्रबाट उत्पन्न हुने फोहर नगरपालिकाभित्रै व्यवस्था गर्ने नीति लिएका छौँ ।’
उनले कुहिने फोहरबाट कम्पोष्ट मल बनाई आयआर्जनको माध्यम बनाउन निजी क्षेत्रलाई नगरपालिकाले उत्प्रेरणा दिइरहेको जानकारी दिँदै फोहर व्यवस्थामा काठमाडौँ उपत्यकाका नगरपालिका बीचमा एकीकृत नीतिका साथ सहकार्य आवश्यक रहेको बताउनुभयो । नगरप्रमुख गिरीले कुहिने र नकुहिने फोहर अलग–अलग राख्न नगर क्षेत्रमा जनचेतना जगाइने र यसका लागि विद्यालय, धार्मिक सङ्घसंस्था, गुठीका साथ जनप्रतिनिधिलाई परिचालन गरिने जानकारी दिए ।
कामपाका प्रमुख साहले महानगरपालिकाले साउन १ गतेदेखि फोहर व्यवस्थाअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग सङ्कलन गर्न सुरुआत गर्न लागेको जानकारी दिँदै महानगरसँग जोडिएका अन्य नगरपालिकामा पनि यही यसरी नै फोहर सङकलन गर्न आग्रह गरे ।