काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल तीन दिन भारत भ्रमणमा गएका छन् ।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत गएका हुन् । नयाँदिल्ली जानुअघि शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै आफू निकै उत्साहका साथ भारत जान लागेको बताए ।
‘यो सद्भावना भ्रमण हो । नेपाल–भारत सम्बन्धका सबै विषयहरूमा त्यहाँको राजनीतिक नेतृत्वसँग चर्चा हुन्छ,’ प्रचण्डले भने,‘म निकै उत्साहका साथ भारत जाँदैछु ।’
प्रचण्डले आफ्नो भ्रमण आकस्मिक नभएको बताए । ‘विनयमोहन क्वात्रा काठमाडौंमा राजदूत हुँदा नै भारत भ्रमणको कुरा भएको थियो । पछि उहाँ भारतीय विदेश सचिव भएपछि पनि सम्पर्क गर्नुभयो । मैले पार्टीको कार्यक्रम हेरेर जुलाई दोस्रो वा तेस्रो साता भ्रमणमा आउन सक्छु भनेको थिएँ,’ प्रचण्डले भने,‘यो भ्रमण आकस्मिक होइन ।’
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौं आए लगत्तै भारतले बोलाएर तपाईंलाई तानातानमा पारेको त होइन ? भन्ने प्रश्नमा प्रचण्डले दुबै देशले तानातानमा पार्नेभन्दा पनि दुबैसँग सम्बन्ध सुमधुर बनाउने आफ्नो लक्ष्य रहेको बताए ।
‘चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले मलाई चीन भ्रमणको निम्तो दिनुभएको छ । अब कोरोना पनि सकिन लाग्यो तपाईंले चीन भ्रमण गर्नुपर्छ भन्नुभएको छ,’ प्रचण्डले भने,‘म छिट्टै चीन पनि जाँदैछु ।’
भारत भ्रमणका क्रममा भारतीय नेतृत्वसँग आफूले सीमामा हुने बाढी र डुबानदेखि भारतले रूससँग सस्तोमा किनेको भनिएको तेलका विषयमा पनि कुरा गर्ने बताए ।