काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले उपसभामुखका लागि एमालेबाट उम्मेदवार बनेकी विद्या भट्टराईलाई मत दिन नपाएकोमा दुःख व्यक्त गरेकी छिन् ।
प्रतिनिधिसभामा शुक्रबार भएको उपसभामुखको निर्वाचन प्रक्रियामा बोल्दै भट्टराई आफ्नो आत्मीय साथी रहेको उनले बताइन् । भट्टराईसँग चीन भ्रमण गएको पनि उनले स्मरण गरिन् ।
उनले भनिन्– ‘चार वर्षअघि सँगै चाइना भ्रमणमा जाँदा उहाँको टोलीमा म पनि थिएँ, मलाई त्यो भ्रमण अत्यन्तै उत्तम लागेको थियो । उहाँ मेरो मिलनसार साथी पनि हो तर मेरो बाध्यता छ, उहाँलाई मैले समर्थन गर्न सक्दिन । किनभने मेरो दल एकीकृत समाजवादीबाट लक्ष्मी चौधरीले पुष्पा भुसाललाई समर्थन गर्नुभएको छ । उहाँलाई समर्थन गर्छु ।’ उनले भुसालका लागि मत समेत मागिन् ।
यस्तै यादवले पुष्पा भुसाल गौतम शालीन व्यक्तित्व भएको र २०६४ सालदेखि सँगै काम गरेको आफ्नो गुरुको रुपमा रहेको बताइन् । ३ वर्षदेखि प्रतिनिधिसभा उपसभामुख बिहिन हुनु ८ महिनादेखि प्रतिपक्ष दलले संसद अवरोध गर्नु प्रमुख कारण रहेको यादवले बताइन् ।