काठमाडौं । नेपालमा जे कुरा गम्भीर बहस बनेर आउँछ, त्यो अन्त्यमा हास्य वा प्रहसन बनेर टुंगिन्छ । यो आफैमा दुई विपरीतहरुको एकत्व वा रमाइलो र बिडम्बनाको कुरा हो ।
नेपाली अर्थतन्त्रमा आर्थिक तरलताको समस्याको कारण भूमिगत हो कि खुल्ला भन्ने बहस जारी नै छ । भनिन्छ, नेपालको अर्थतन्त्रलाई निकै प्रभाव पार्ने आर्थिक गतिविविध लगभग आधा भूमिगत नै छ ।
यसको कारण हो, नेपालमा हुने आर्थिक कारोवारको ५० प्रतिशत अर्थविदहरुको भाषामा ‘अन्डरग्राउण्ड’ नै छ । त्यसो त ‘कालो’ धनलाई ‘सेतो’ बनाउन पटकपटक प्रयास पनि भएकै हो ।
तर पनि कालो धन सोचेको जस्तो अवस्थामा सेतो बनेर आउन सकेन । आर्थिक गतिविधि सबै खुला र पारदर्शी बनाउने प्रयत्न जारी रहेकै कारण अर्थमन्त्रालयमा अहिले खुला र भूमिगत बीच घच्ची चलिरहेको छ ।
भूमिगत राजनीतिक जीवन पार गरेर आएका कमरेड प्रभाकर अहिले अर्थमन्त्रीबाट राजीनामा दिएर जनार्दन शर्मा ‘खुला’ हुन पुगेका बेला राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी भने कमरेड एम. अधिकारी बनेर ‘भूमिगत’ हुन पुगेका छन् ।
यसै विषयलाई लिएर अहिले सडक र सदन तातिन थालेको छ । सत्ताधारी दलहरु प्रतिपक्षी दल नेकपा एमालेको अर्थविभागमा भूमिगत रूपमा कार्यरत एम. अधिकारीको खोजीमा छन् भने एमाले उनको बचाउमा लागिपरेको छ ।
संसदमा ‘हु इज एम. अधिकारी ?’ भनेर खोजी भइरहेको छ । विप्लव नेतृत्वको नेकपा समेत खुला परिवेशमा आइसकेका बेलामा भूमिगत एम. अधिकारीको खोजी अहिले निकै रोचक बनिरहेको छ ।
राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माको इन्टेरेष्टमा बहाल हुँदाका बखत अनाधिकारिक व्यक्तिहरु लगाएर करको दायरा हेरफेर गरेकोबारे छानबिन सुरु भएका बेला गभर्नरको पार्टी संलग्नताका बारेमा पनि छानबिन हुने देखिएको अवस्थाले खुल्ला र भूमिगतको टक्कर निकै पेचिलो बनाएर लैजाने देखिएको छ ।