• जेष्ठ १ २०८३, शुक्रबार

कर्मचारीलाई मुक्का हान्ने सुनमान्छे पक्राउ

असार २९ २०७९, बुधबार

काठमाडौं । ‘सुन मान्छे’का रुपमा चिनिएका एकजना सरकारी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ४८ वर्षीय सुवास घिसिङ छन् ।

उनलाई प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार घिसिङले सोमबार नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई मुक्का हानेका थिए ।

फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार समेत रहेका घिसिङले फोहोरको विषयलाई लिएर विवाद गरेको मैनालीले बताए ।

त्यसक्रममा एक्कासी श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको सूचना प्राप्त हुने वित्तिक प्रहरी त्यहाँ पुगेको मैनालीले बताए ।

घटनाबारे थप अनुसन्धानका लागि घिसिङलाई ज्यान मार्ने उद्योगमा तीन दिन म्याद थप गरिएको मैनालीले बताए ।