काठमाडौं । दिनदहाडै गोली प्रहार गरी व्यवसायीको हत्या गरेको आरोप लागेका अभियुक्तलाई सफाइ दिने फैसला गरेका धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत काठमाडौं तानिएका छन् ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको न्याय परिषद्को बैठकले विवादित फैसलाका सन्दर्भमा छानबिन गर्न न्यायाधीश भट्टराईलाई सर्वोच्च तान्ने निर्णय गरेको हो । न्याय परिषद् स्रोतका अनुसार अहिले न्यायाधीश भट्टराईमाथि ‘गम्भीर’ छानबिन भइरहेको छ।
मनोज साहको हत्याका अभियुक्त पंकज भनिने दामोदार चौधरी लगायतका अभियुक्तलाई सफाइ उनी विवादमा मुछिएका थिए । अभियुक्त चौधरीलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । २०७६ मंसिर १ गते दर्ता भएको मुद्दामा न्यायाधीश भट्टराईले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएका हुन् ।
यो मुद्दामा व्यापक आर्थिक चलखेल गरेको आरोप लागेको छ । २०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो । शिव आयल पेट्रोल पम्प सञ्चालन गरिरहेका साह आफूले पाउनुपर्ने पैसा उठाउन जाँदा जनकपुरधाम उपमहानगरपालिका- १४ घर भएका पंकज भनिने दामोदरप्रसाद चौधरीले गोली हानी हत्या गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
६ कात्तिक २०७६ मा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो। साहको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पंकज भनिने दामोदर चौधरीलाई पक्राउ गरेको थियो ।