• बैशाख २३ २०८३, बुधबार

कांग्रेस संस्थापनइतर मन्त्री फिर्ता बोलाउने पक्षमा, देउवाले नमाने दबाब दिने शेखर समूहको रणनीति

असार २७ २०७९, सोमबार

काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले मन्त्री फेरबदलको विषयलाई औपचारिक रूपमा उठान नगरे पनि संस्थापनइतर (डा.शेखर कोइराला) समूहले आन्तरिक रूपमा छलफल गरिरहेको छ । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रभावकारी कार्यसम्पादन नगरेको भन्दै विकल्प सोच्नुपर्नेमा शेखर पक्ष केन्द्रित छ ।

उसले पार्टीबाट मन्त्री बनेकाहरूको कामकाबारहीमाथि असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवालाई मन्त्रीहरूको विकल्प खोज्न दबाब दिँदै आएको छ । खुलेर पार्टीभित्र मन्त्रीहरूको विकल्पका बारेमा छलफललाई अगाडि नबढाए पनि आन्तरिक रूपमा यसबारेमा सोच्नुपर्ने भन्दै इतर समूहले देउवालाई दबाब दिँदै आएको हो ।

कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गरेयता संस्थापनइतर समूहले देउवाको कार्यशैली र सरकार सञ्चालन प्रभावकारी नभएको आरोप लगाउँदै आएको छ । पार्टी एक्लौटी ढंगले सञ्चालन गर्न उद्दत रहेको, आफूनिकट नेताहरूलाई मन्त्री पदमा पठाएको आदि आरोप उसले लगाउँदै आएको छ ।

इतर समूहले सरकारमा सहभागी मन्त्रीहरूले पारदर्शी र जनमुखी कार्यसम्पादन नगरेको भन्दै तीव्र असन्तुष्टि जनाउँदै आएको छ । असन्तुष्टिका बावजुत कांग्रेसबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने र शक्ति सन्तुलनका आधारमा नयाँ मन्त्रीहरूलाई सरकारमा पठाउनुपर्ने भन्दै शेखर समूहले देउवालाई भित्रभित्रै दबाब दिँदै आएको छ ।

आज (सोमबार) केन्द्रीय समितिको बैठक बस्नुपूर्व हिजो (आइतबार) इतर समूहले छुट्टै भेला गरेर छलफल गरेको थियो । सकभर मन्त्रीलाई फिर्ता बोलाउने र शक्ति सन्तुलनका आधारमा सरकारमा नयाँ मन्त्री पठाउने छलफल भएको स्रोतले बताएको थियो । यद्यपि उसले मन्त्री फिर्ता बोलाउने विषयलाई छलफलको प्रमुख विषय बनाए पनि सोमबार बसेको केन्द्रीय समिति बैठकमा यस विषयले प्रवेश पाएन ।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा संस्थापनइतर समूहले गरेको छलफलले प्रवेश नपाएको पार्टी उपसभापति धनराज गुरुङलाले टेलिफोनमार्फत बताए । गोल खबरसँगको संक्षिप्त टेलिफोन संवादमा गुरूङले भने, ‘हामीले हिजो गरेको जुन छलफल थियो, त्यस विषयमा हामी केन्द्रित नै छौँ । यद्यपि आज बसेको केन्द्रीय कमिटी बैठक स्थानीय तह निर्वाचन, कांग्रेस प्रदेश सभापति चयन र आगामी निर्वाचनबारे निर्णय गर्नुपर्ने भएकाले हामीले उठाएको मुद्दाको विषयले प्रवेश पाएन । यति भन्दैमा हामी हाम्रो मागप्रति डग्मगाएका छैनौँ । सभापतिज्यूसँग हामी यस विषयमा छलफल त गर्ने नै छौँ । तर, यतिबेला पार्टीका आफ्नै विषयलाई प्रश्रय दिनुपर्ने बाध्यता छ ।’

गुरूङले आफूहरूले उठाएका माग सम्बोधन नगरे सभापति देउवालाई चौतर्फी दबाब दिने बताए । उनले मन्त्री फिर्ता बोलाउने विषय आफूहरूका लागि प्रमुख भएपनि देउवाले बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । त्यस्तै पार्टी सञ्चालनमा देउवा एकलौटी बनेको, शक्ति सन्तुलनका आधारमा मन्त्रीहरू सरकारमा नपठाएको गरुङको आरोप छ ।

त्यस्तै कांग्रेस महासचिव गगनकुमार थापाले सञ्चारकर्मीसँग कुरा गर्दै हिजो उठाएको छलफलको विषयमा मुख खोल्न चाहेनन् । बरू उनले केन्द्रीय समितिको निर्णयमा केन्द्रित रहेर आफ्ना कुरा राखे ।

देउवानिकट नेता प्रदीप पौडेल भन्छन्, ‘पार्टीभित्र असन्तुष्टि हुनु नौलो विषय होइन । तर, असन्तुष्टिले राम्रो परिणाम पनि ल्याउँदैन । बरू असन्तुष्ट साथीहरू सभापतिसँग बसेर गम्भीर छलफल गरेर निकास लिनुपर्ने हुन्छ । छुट्टै छलफल गर्नुभन्दा बारम्बार भइरहने पार्टीका बैठक र निर्णयमा भाग लिएर आफ्ना माग राख्दा राम्रो ।’

पार्टीका कार्यक्रम र बैठकमा अनुपस्थित हुने, आफ्ना एजेन्डा सञ्चार माध्यममार्फत राख्ने, गुट–उपगुट बनाउने कार्यले पार्टीलाई फाइदा पुग्दैन । यसो गर्नुभन्दा पार्टीका नियमित बैठकमा उपस्थित हुने, आफ्ना माग सम्बोधनका लागि वार्ता, सम्वाद गर्ने हो । वार्ता र सम्बादमार्फत समस्याका सामाधान हुन्छन् । छुट्टै बैठक, भेला गर्नुको साटो वार्ता र सम्बादको माध्यम रोज्नु नै सार्थक हुन्छ भन्छन्,’ नेता पौडेल ।