काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने बताएका छन् ।
उनले सोमबार सम्पादकहरूसँगको छलफलमा निजगढ विमानस्थलका विषयमा सर्वोच्च अदालतले पर्याप्त अध्ययन नगरी फैसला गरेको बताउदै वनको क्षति नगरी हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको दक्षिणतर्फ टाँगिया बस्ती हटाएर दुई हजार मिटर क्षेत्रफलमा विमानस्थल बनाउन सकिने बताए ।
उनले भने, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, वनको क्षति नगरीकन नजिकको टाँगियावस्ती हटाउँदा र दक्षिण पट्टी बनाउँदाखेरि दुई हजार स्क्वायर मिटरमा बनाउँदा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता पर्दैन ।’
विमानस्थल निर्माण गर्दा सरकारले अनावश्यक क्षेत्रफल लिनु, अनावश्यक ढङ्गले वन विनाश गर्नु र वातावरणमा जानीजानी दुष्प्रभाव पार्न नहुने भन्दै ओलीले अदालतले पनि विकास निर्माणमा हस्तक्षेप गर्न नहुने बताए ।
अध्यक्ष ओलीले धेरै वातावरणीय क्षति नगरी चाहिए जति जमिन लिएर विमानस्थल निर्माण गर्न सकिने बताए । ‘चाहिए जति जमिन लिने, त्यसमा धेरै क्षति पनि हुँदैन, त्यसलाई निर्माण गर्न सकिन्छ’ उनले भने ।