काठमाडौं । राष्ट्रियसभाका सदस्य डा विमला राई पौडेलले जनसङ्ख्या जनशक्ति व्यवस्थापन सम्बन्धी बेग्लै मन्त्रालय स्थापना गर्न आग्रह गरेकी छिन् ।
विश्व जनसङ्ख्या दिवस २०२२ का अवसरमा त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले आज आयोजना गरेको ‘जनसङ्ख्या, समृद्धि र विकास’ विषयक विचार गोष्ठीमा सांसद पौडेलले मुलुकमा कुन क्षेत्रमा कति जनशक्ति, कर्मचारी र प्राविधिक आवश्यक पर्छ भन्ने योजनातर्जुमा र व्यवस्थापन गर्न बेग्लै मन्त्रालय चाहिने बताए । उनले जनशक्तिको उचित योजना नहुँदा युवामा बेरोजगारी र विदेश पलायनको क्रम बढेको टिप्पणी गरे ।
उनले सबैभन्दा खेतीयोग्य जमिन, धेरै जनसङ्ख्या, धेरै सीमानाका मधेसमै भए पनि त्यही प्रदेशमा बढी बसाइँसराइ हुनुका कारण खोज्न आग्रह गर्दै जनसाङ्खिक लाभ लिनसक्ने गरी योजना बनाउनुपर्नेमा जोड दिए।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सुरेन्द्रलाभ कर्णले खुल्ला सीमानाका कारण नेपाल र भारतमा बसाइँसराइ सामान्य हुँदा जनङ्ख्याका सम्बन्धमा संवेदनशीलता अपनाउनुपर्ने बताए । उनले जनसङ्ख्यालाई विकास, शिक्षा, रोजगारीसँग जोड्न नसकेमा मुुलुक समृद्ध नहुने बताए ।
सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ डा गणेश गुरुङ र बालकृष्ण माबुहाङले जनसङ्ख्यालाई विकास र वातावरणसँग एकसाथ व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै स्रोतसाधनको उपलब्धताका आधारमा बसाइँसराइ हुने भएकाले समानुपातिक विकासकातर्फ योजना बन्नुपर्ने बताए ।
विभागका प्रमुख प्रा डा योगेन्द्रबहादुर गुरुङले जनसङ्ख्या र विकासलाई जोड्न प्राज्ञिक बहस र अनुसन्धान आवश्यक भएको बताए।
विभागले दिवसकै अवसरमा मङ्गलबार जनगणना २०७८, जनसङ्ख्या र विकास शीर्षकका वक्तत्वकला प्रतियोगिता तथा त्रिविमा जनसङ्ख्या अध्ययन कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शन गर्दैछ ।
यस वर्षको दिवसको नारा ‘आठ अरब जनसङ्ख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति रहेको छ ।