गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक भएको बताएका छन्।
आइतबार कैलालीको धनगढीमा आयोजित एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमा उहाँले आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय पार्टीका रूपमा स्थािपत भइसकेकाले निर्णायक शक्तिका रूपमा रहेको बताएका हुन् ।
अध्यक्षले नेपालले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा समाजवादीलाई घात भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई भएको बताए ।
उनले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको भर पर्नुभन्दा एक्लै शक्ति आर्जन गरेर निर्वाचनमा होमिन तयार हुनुपर्ने धारणा व्यक्त गरे । उनले सङ्गठनका बलमा नै निर्वाचन जितिने भएकाले सङ्गठन निर्माणमा सबै तहका कार्यकर्ता जिम्मेवार भएर लाग्नुपर्ने निर्देशन दिए ।
आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन सक्ने उनको भनाइ थियो ।