• जेष्ठ १ २०८३, शुक्रबार

विवादस्पद फैसला गर्ने जिल्ला न्यायाधीश भट्टराई छानबिनको घेरामा

असार २५ २०७९, शनिबार

काठमाडौं । नेपाल बार एशोसिएशन उच्च अदालत जनकपुरले जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले गरेका विवादास्पद फैसलाहरू संकलन गरेर न्याय परिषद् सचिवालयमा पठाउने निर्णय गरेको छ ।

दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई सफाई दिएपछि न्यायाधीश भट्टराई विवादमा मुछिएका थिए ।

मनोज साहको हत्याका अभियुक्त पंकज भनिने दामोदार चौधरी लगायतका अभियुक्तलाई सफाइ दिएपछि बारको बैठक बसेर निर्णय गरिएको उपाध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले बताए ।

अभियुक्त चौधरीलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । २०७६ मंसिर १ गते दर्ता भएको मुद्दामा न्यायाधीश भट्टराईले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएका हुन् ।

यो मुद्दामा व्यापक आर्थिक चलखेल गरेको आरोप लागेको छ । २०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो । शिव आयल पेट्रोल पम्प सञ्चालन गरिरहेका साह आफूले पाउनुपर्ने पैसा उठाउन जाँदा जनकपुरधाम उपमहानगरपालिका- १४ घर भएका पंकज भनिने दामोदरप्रसाद चौधरीले गोली हानी हत्या गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा गएका थिए । पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहालको स्थिति आएको थियो ।

डा. भट्टराईले हत्या, बलात्कार, लागूऔषध लगायतका अभियुक्तलाई सफाइ दिएपछि छानबिनका लागि न्याय परिषद् पठाउने निर्णय भएको छ ।