काठमाडौँ । जलवायु परिवर्तनले महिलाको जनजीवन र समग्र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका ६० जना महिलाको समूहले आगामी असोज (२२ देखि २८ सम्म) मा डोल्पाको फोक्सुण्डो तालसम्मको यात्रा गर्ने भएका छन् ।
जलवायूले पारेको असरलाई न्युनिकरण गर्दै महिलाहरुको व्यक्तित्व विकासकालागि विभिन्न क्षेत्रका महिलाहरुलाई नेपालका विभिन्न क्षेत्रमा यात्रा गराइएको हो।
‘साथसाथै’ नामक संस्थाको अग्रसरतामा हुन लागेको उक्त पदयात्रामा सातवटै प्रदेशबाट प्रतिनिधिहरु पदयात्राका लागि ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एन्ड नेचरबेस्ड टुरिजम डेभलपमेन्ट’ भन्ने नारासहित यात्रा तय गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धन र स्थानीय महिलाको जीवनयापनमा पारेको असरबारे उजागर गर्ने उद्देश्यले शे–फोक्सुण्डो निकुञ्जमा पर्ने फोक्सुण्डो तालसम्मको यात्रा गर्न खोजिएको संस्थाकी अध्यक्ष प्रजीता कार्कीले बताइन् ।
काठमाडौंबाट डोल्पाको जुफाल विमानस्थलमा उत्रेर टोली सदरमुकाम दुनै–छेप्का–साइजल हुँदै ३६११.५ मिटर उचाइमा अवस्थित फोक्सुण्डो ताल पुग्ने छ । टोलीले स्थानीय जनप्रतिनिधिका साथै स्थानीय महिलालगायतसँग जलवायु परिवर्तनले निम्त्याएको समस्याबारे बहस–छलफल गर्नेछ । जलवायु परिवर्तनले हिमाल, पहाड, खोलानाला, जैविक विविधताका साथै जीवनयापनमा पारेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्य रहेको छ।
‘पदयात्रामा कूटनीतिक नियोग, न्यायाधीश, सरकारी तहका व्यक्ति, सांसद, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मी सहभागी हुने बताउदै संस्थाका अध्यक्ष कार्कीले पदयात्राका लागि वन तथा वातावरण र पर्यटन मन्त्रालयका साथै सरोकारवाला विभिन्न संघ–संस्थाहरूले सहयोग गरेको बताइन् ।
यसअघि संस्थाको आयोजनामा नारी दिवसको अवसरमा विभिन्न क्षेत्रका ४० जना महिलाहरूको टोलीले सगरमाथा निकुञ्जमा पर्ने कालापत्थरसम्मको यात्रा गरेको थियो । त्यो बेला जलवायु परिवर्तनसम्बन्धी घोषणा पत्रसमेत जारी गरिएको थियो । संस्थाले हरेक वर्षको नारी दिवस (८ मार्च) का दिन जलवायु न्यायको मुद्दा बोकेर सगरमाथा क्षेत्र वा कालापत्थरको पदयात्रा गर्ने निर्णयसमेत गरेको छ ।
साथै अध्यक्ष कार्कीकै रोहबरमा विभिन्न क्षेत्रका २० महिलाहरुलाई अन्नपूर्ण बेसक्यामको यात्रा सम्पन्न गरेको छ । संस्थाले उच्च हिमाली यात्रा बाहेक बालबालिका तथा वृद्धवृद्धाहरुका क्षेत्रमा पनि काम गर्दै आएको छ भने अर्को पक्ष चिडियाघरका जनावरहरुको उद्धारकालागि पनि काम गर्दै आएको छ।
फोटो प्रदा कार्की जोशीको फेसबुकबाट