काठमाडौं । नेपालमा कल सेन्टर खोलेर अमेरिकी नागरिकलाई ठगी गर्ने गिरोहको अनुसन्धानका लागि साइबर ब्यूरोले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग सहयोग मागेको छ ।
इन्टरपोलसँग यो पटक मागेको सहयोग आरोपीलाई खोज्न नभइ पीडितलाई खोज्नका लागि हो ।
इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंलाई ब्यूरोले पत्राचार गरेर अमेरिकी प्रहरीको सहयोग मागेको हो । ब्यूरोका पत्राचारका आधारमा एनसीबी काठमाडौंले एनसीबी वासिङ्टनलाई अनुसन्धानका लागि सहयोग गरिदिन आग्रह गरिसकेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए ।
अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि इन्टरपोलका सदस्य राष्ट्रहरुले एकअर्कालाई सहयोग गर्छन् । अपराध अनुसन्धान, अपराधीको खोजी र सूचनाको आदनप्रदानका लागि पनि इन्टरपोलले सहयोग गर्छ ।
‘अहिले ब्यूरोले अनुसन्धान गरिरहेको घटना फरक प्रकृतिको छ, पीडितहरु सबै अमेरिकामा छन्’ ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले अनलाइनखबरसँग भने, ‘त्यसैले अनुसन्धानका लागि अन्तर्राष्ट्रिय सहयोग खोजी गरेका छौं ।’
ब्यूरोले आइतबार पहिलो साता अपरेशन चलाएर कल सेन्टरको नाममा साइबर अपराध गरिरहेको गिरोहलाई समातेको थियो । बूढानीलकण्ठ नगरपालिका–१२, कपनका विजय श्रेष्ठको नाममा दर्ता अर्बिट नेक्सस प्रा.लि. कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेका थिए ।
कम्पनीका लागि काम सिकाउन भन्दै काठमाडौं आएका भारतीय नागरिक ३२ वर्षीय निसान खैरे र २४ वर्षीय मनीष तिवारीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये तीन जनाबाहेक अन्य सबै कल सेन्टरमा काम गर्न राखिएका कर्मचारी थिए ।
उनीहरुले दिल्लीस्थित कार्यालयबाट प्राप्त अमेरिकी नम्बरका आधारमा फोन गरेर विभिन्न व्यक्तिहरुको कम्युटर बनाइदिने बहानामा बैंक विवरण लिएर रकम चोरी गर्ने गरेका थिए ।
अनुसन्धान अधिकृतहरुका अनुसार नेपालबाट बैंक विवरण मात्र माग्ने गरिएको थियो । भारतमा रहेको समूहले रकम निकाल्ने गरेको थियो । त्यसवापत नेपालमा बस्ने गिरोहलाई तलब दिइने गरिएको थियो ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनीहरुको साथबाट बरामद कम्युटरमा ९० बढी अमेरिकी नागरिकको विवरण फेला परेको थियो । तीमध्ये कतिबाट पैसा निकालियो भन्ने खुलेको थिएन । त्यसैले ती पीडित व्यक्तिहरुसँग इन्टरपोलको सहयोगमा प्रहरीले सम्पर्क स्थापित गर्न खोजेको हो । उनीहरुले पनि जाहेरी अनुसन्धानका लागि थप बाटो खुल्नेछ ।
दुबईमा योजना, दिल्लीमा कार्यालय, काठमाडौंबाट अमेरिकामा लाखौं ठगी
अमेरिकासँगै भारतमा पनि थप अनुसन्धानका लागि समन्वय हुने प्रहरी स्रोतले बतायो । हाल प्रहरीले पक्राउ परेकाहरुमाथि अनाधिकृतरुपमा अर्काको कम्प्युटरमा पहुँच पु¥याएको कसूरमा मुद्दा चलाइरहेको छ । अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ र प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।