काठमाडौं । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमित दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।
‘दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका दुईजनामा संक्रमितको विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । यस संगै हैजा संक्रमितका संख्या २१ जनामा पुष्टि भएको महाशाखाका निर्देशक डा.चुम्मनलाल दासले जानकारी दिए ।
काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।
काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा ईकोलाई र कोलिफर्म देखिएको छ । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा आजभोलि झाडापखालाका बिरामी बढिरहेका छन् ।
गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हैजाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखिन्छन् ।