• जेष्ठ १ २०८३, शुक्रबार

रामेछाप बस दुर्घटना: घाइतेमध्ये थप ४ जनाको मृत्यु, फाल हानेर जोगिए चालक

असार २१ २०७९, मंगलवार

काठमाडौं । लुभुघाट बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको छ ।

रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् ।

सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार जारी छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए । उनीहरुमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घाइते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

आज बिहान झण्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुबाहक बस बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको सुनापती गाउँपालिका–५ लुभुघाटमा दुर्घटनामा परेको थियो ।