काठमाडौं । काठमाडौं जिल्ला अदालतका राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्वकोषाध्यक्ष रुद्र पोखरेलका बीचमा भएको घुस लेनदेनबारे गठित समितिले छानबिन थालेको छ । छानबिन समितिले आफ्नो काम अगाडि बढाएसँगै वकील पोखरेल सम्पर्कविहिन भएका छन् ।
उनले अनामनगरमा रहेको आफ्नो ल फर्म पनि सारेका छन्। उनीमाथि छानबिन गरिरहेको कानुन व्यवसायी परिषद्ले उनलाई म्याद समेत बुझाउन सकेको छैन। उनलाई परिषद्ले असार ९ गते नै सात दिनको स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त निर्णय उनलाई बुझाउन खोज्दा उनी सम्पर्कविहीन भएका हुन्। ‘अडियो सार्वजनिक भएका दिन उनले आफू न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए।
उनी सम्पर्कविहिन भएपछि महान्यायाधिवक्ता खम्बबहादुर खातीको नेतृत्वमा परिषद्ले उनको इमेलमा म्याद तामेली गरेर पठाएको छ । सो म्याद तामेली भएकै आधारमा पोखरेलमाथि कारबाही अघि बढाउने तयारी कानुन व्यवसायी परिषद्ले गरेको छ । परिषद्ले हुलाकबाट उनले कानुन व्यवसायीको प्रमाणपत्रमा राखेको ठेगानामा पत्र पठाएको छ । सम्पर्कमा नआए सार्वजनिक सूचना जारी गर्ने र प्रमाणपत्र रद्ध गर्ने सम्मको तयारी छ ।
न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको समितिले राजपत्रमा सूचना प्रकाशित गरेलगत्तै छानबिन सुरु गरेको छ । समितिमा उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल रहेका छन्। आरोप लागेका न्यायाधीशलाई काम गर्न रोक लगाइएको थियो। राजत्रपमा सूचना प्रकाशित भएपछि न्यायाधीश कोइराला निलम्बनमा परेका छन्।
न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच घुस लेनदेनको डिल भएको अडियो असार ८ गते सार्वजनिक भएको थियो। पूर्वसांसद एवं व्यवसायी इच्छाराज तमाङलाई धरौटीमा छोड्ने विषयमा उनीहरूबीच घुसको डिल भएको थियो। तमाङविरुद्ध ६ अर्ब रकम ठगीको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस भइरहँदा उनीहरूबी कुराकानी भएको थियो।
समितिले उक्त अडियोमा नाम आएका व्यक्तिहरुसँग बयान लिनेदेखि आवश्यक प्रमाण र थुनछेक आदेश समेत अध्ययन गर्ने भएको छ। समितिका एक सदस्यका अनुसार अहिले अडियो र त्यससँग सम्बन्धिक प्रमाणहरु संकलनको काम भइरहेको छ।
४५ दिनको समय भएकाले छानबिन समितिले जिल्ला न्यायाधीशसँग बयानदेखि उक्त प्रकरणमा जोडिएका व्यक्तिहरुसँग पनि बयान लिने छ। समितिले उनीमाथि कारबाहीका विषयमा पनि सिफारिस गर्ने छ। उक्त समितिको सिफारिसपछि परिषदले थप निर्णय लिने छ।