नयाँदिल्ली । भारतीय काँग्रेसका नेता राहुल गान्धीविरुद्ध भ्रामक खबर प्रसारण गरेको आरोपमा जी–न्युजका एंकर रोहित रंजन मंगलबार बिहान पक्राउ परेका छन् । नोएडा प्रहरीले उनलाई गाजियाबादबाट पक्राउ गरेको हो ।
आफ्नो घरमा प्रहरी पक्राउ गर्न छत्तिसगढको प्रहरी पुगेपछि रोहितले बिहान ट्वीट गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, एएसपी गाजियाबाद र एडीजीजोन लखनऊसँग मद्दत मागेका थिए ।
त्यसपछि गाजियाबादको प्रहरी पुगेर त्यहाँ हस्तक्षेप गरेको थियो । पछि नोयडाको प्रहरी त्यहाँ पुगेर आफूहरुकोमा रोहितविरुद्ध उजुरी परेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
केही दिन अघि रोहितले एक स्पेसल टिभी कार्यक्रममा नेता राहुल गान्धीको बयानलाई तोडमोड गरेर देखाएको कांग्रेसको आरोप छ । यसले उनको छवि बिगारेको भन्दै छत्तीसगढमा उजुरी परेको थियो ।
दुई दिनअघि नोयडास्थित टिभी च्यानलको कार्यालयअघि प्रदर्शन गरेको आरोपमा १९ जना काँग्रेस कार्यकर्ता पक्राउसमेत परेका थिए ।
रोहितविरुद्ध राजस्थानमा पनि मुद्दा दर्ता भएको छ । पछि एंकर रोहित रञ्जनले आफ्नो शोमा यसलाई मानवीय त्रुटि भन्दै माफी मागेका थिए ।