काठमाडौंस्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै स्वयम् आफूलाई गोली प्रहार गरेका थिए ।
दूतावास स्रोतले नाम उल्लेख नगर्ने शर्तमा भनेका थिए, ‘हामीले बिहान ९ बजे कार्यालय खोल्नुभन्दा अघि नै यो घटना भएको हो । ती सुरक्षाकर्मीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस विषयमा भारतीय सुरक्षाकर्मीले नै अनुसन्धान गरिरहेका छन् । उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।’
नेपाल प्रहरीले पनि भारतीय दूतावासबाट एक सुरक्षाकर्मीले आत्महत्या गरेको जानकारी गराएको बताएको छ ।