• बैशाख २३ २०८३, बुधबार

विपद् व्यवस्थापन प्राधिकरण गठन गर्नुपर्छ – मुख्यमन्त्री राउत

असार १७ २०७९, शुक्रबार

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट हुनसक्ने मानवीय, भौतिक तथा प्राकृतिक विपद्बाट क्षति न्यून गर्न सङ्घ, प्रदेश र स्थानीय तह सरकारको समन्वयमा विपद् व्यवस्थापन प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् ।

मधेस प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा धनुषा तथा सिरहा जिल्लाको सिमानामा पर्ने बन्दीपुरस्थित कमला ब्यारेजमा आज आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन, अनुगमन गर्दै मुख्यमन्त्री राउतले मनसुनमा बाढी तथा डुबान, गर्मीमा आगलागी र चिसो मौसममा अत्यधिक चिसोका कारण सबैभन्दा बढी प्रभावित हुने मधेस प्रदेश भएकाले तीन तहको सरकारको सहभागितामा विपद् व्यवस्थापन प्राधिकरण गठन गरेर उद्धारको कार्यमा लाग्नसके क्षति न्यून गर्न सकिने बताए ।

उनले यसका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यससम्बन्धी प्रस्तावसमेत पेश गरेको जानकारी दिँदै तीनवटै सुरक्षाकर्मीको सहभागितामा भएको यो विपद् व्यवस्थापन अभ्यासबाट आउने दिनमा बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राउतले सुरक्षा निकायले विपद् प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशनसमेत दिए ।
उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बाढीबाट जनधनको क्षति न्यूनीकरणका लागि गरिने प्रयासका बारे प्रयोगात्मक अभ्यास गरेका थिए ।

मनसुनका कारण हुने क्षति न्यूनीकरणका लागि विपद् जोखिमको पूर्वतयारीस्वरूप प्रयोगात्मक अभ्यास गरिएको हो । सिरहाको कर्जन्हा नगरपालिका बन्दीपुरस्थित कमला नदीमा मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीद्वारा संयुक्तरूपमा असार १५ गतेदेखि नै विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गरिएको हो ।

प्रयोगात्मक अभ्यासको अन्तिम दिन बिहीबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतको उपस्थित रहेको थियो । विपद् व्यवस्थापन तथा पूर्वतयारी गतिविधि लक्षित संयुक्त अभ्यासका क्रममा बाढी तथा डुबानमा परेको अवस्थामा कसरी उद्धार गरिन्छ भनेर उदाहरण (डेमो) प्रस्तुत गरिएको थियो ।

अभ्यासका क्रममा बाढीले बगाउँदै ल्याएको मानिसलाई कसरी उद्धार गर्ने र खोलाको बीच भागलगायत कस्तो अवस्थामा कुन सामग्रीको प्रयोगबाट उद्धार गर्ने अभ्यास गरेर देखाइएको थियो । अभ्यासकै क्रममा खोलाको बीच भागमा फसेका दुई जनाको हेलिकप्टरद्वारा उद्धारलगायत विभिन्न अभ्यास गरेर देखाइएको थियो ।