• श्रावण १४ २०८३, बिहीबार

घोराहीको न्यायिक समितिले गर्यो यति धेरै मुद्धाको फैसला

असार १७ २०७९, शुक्रबार

घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा असार १५ सम्म २१८ उजुरी मिलापत्र गराएको जनाएको छ । गत आवको जिम्मेवारी सरेर आएका १०५ र नयाँ दर्ता भएका १३४ सहित २३९ मुद्दा दर्ता भएकोमा अधिकांश उजुरी मिलापत्र भएको न्यायिक समिति संयोजक एवं उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिए ।

आव २०७८÷७९ को साउनदेखि असार १५ सम्म न्यायिक समितिले गरेका कामबारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा न्यायिक समिति संयोजक डिसीले हाल २१ उजुरी प्रक्रियामा रहेको जानकारी दिए । । उनका अनुसार, जग्गा रोक्कासम्बन्धी उजुरी पर्ने गरेको छ । घरायसी विवाद वा कुनै शङ्का लागेमा परिवारजनबाटै उजुरी गर्न आउने गरेकाले अरु विषयमा भन्दा जग्गा रोक्कासम्बन्धी उजुरी धेरै मात्रामा पर्ने गरेको छ । जग्गा रोक्काका १२९ उजुरी परेकोमा १२८ मिलापत्र भइसकेको छ । जग्गा विवादका ५० उजुरी परेकोमा ४० मिलापत्र भएको र १० प्रक्रियामा रहेका, अन्य शीर्षकमा पनि २४ उजुरी परेकोमा १८ मिलापत्र भएको तथा ६ प्रक्रियामा रहेको छ । लेनदेनका १४, कुलोपानीको तीन, मानाचामलको चार उजुरी परेकोमा सबै मिलापत्र भएको छ ।