• बैशाख २४ २०८३, बिहीबार

उच्चस्तरीय नीति सम्मेलन: नेपाली अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्ने अवसर

चैत्र १५ २०७८, मंगलवार

काठमाडाैं । नेपाली युवा अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्दै उच्चस्तरीय नीति सम्मेलनमा सहभागी हुने अवसर प्राप्त भएको छ ।

युनेस्कोको आयोजनामा फ्रान्सको पेरिसमा हालै सम्पन्न उच्चस्तरीय नीति सम्मेलनमा कोभिड–१९ महामारीले युवामा पारेको असरबारे नेपाली युवा अनुसन्धानकर्ता आर्या मानन्धरले विभिन्न मुलुकका मन्त्रीहरु बीच अध्ययनबारे प्रस्तुतीकरण दिँदै कोरोनाको प्रभाव कम गर्न दृष्टिकोण आदानप्रदान गर्ने अवसर प्रदान तथा स्रोतमा पहुँच पुर्‍याउनुका साथै मनोसामाजिक परामर्शको आवश्यकतामा जोड दिएकी छन् ।

अनुसन्धानमा दक्षिण एसियाका अन्य अनुसन्धानकर्ता रहे पनि युनेस्कोले प्रस्तुतीकरणमा नेपाली अनुसन्धानकर्ता मानन्धरलाई क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता गराएको थियो ।

उनले भनिन्, ‘दक्षिण एसियाको प्रतिनिधित्व गरेर सहभागी हुनु नेपालीकै लागि गर्वको कुरा हो, अझ विभिन्न मञ्चमा मन्त्रीहरूको भाषण सुनिन्थ्यो भने यसपालि हामीहरूका कुरा मन्त्रीलाई सुन्न मात्र लगाइएन, आपसी प्रश्नोत्तर समेत भएकाले जवाफदेहिताका लागि घच्घच्याउने काम पनि भएको छ, प्रतिबद्धताको पछि हामीले फलोअप पनि गर्नसक्ने छौं ।’

त्यसअघि विभिन्न मुलुकका ३४ अनुसन्धानकर्ताले १६ महिना लगाएर महामारीमा युवावर्गमा परेको प्रभावबारे अनुसन्धान गरेका थिए ।

सम्मेलनमा नेपाली अनुसन्धानकर्ता मानन्धरले अनुसन्धानमा महामारीको प्रभाव असमान रहेको र युवा स्वयंसेवक समूहमा स्रोतमा पहुँच कम सुरक्षित संरक्षणको अभाव तथा मनोवैज्ञानिक र मनोसामाजिक अवस्थामा असर परेको फेला पारिएको जानकारी गराएका थिए ।

युवामा श्रम तथा रोजगारी नहुनु, दोहोरो श्रम लगायतका कारण मानसिक स्वास्थ्य समस्या बढेको पाइएको छ । युवा स्वयंसेवकको शारीरिक र मनोवैज्ञानिक जोखिमलाई ध्यानमा राख्दै, सुरक्षित र समावेशी नीति अबलम्वन गर्नुपर्ने उनको सुझाव छ ।

कोभिडका कारण युवामा मानसिक स्वास्थ्यदेखि मानवअधिकारसम्म, सिक्ने सीपदेखि जीविकोपार्जनसम्म र युवा नेतृत्वदेखि उनीहरुको प्राविधिक भूमिकासम्ममा असर पारेको अनुसन्धानको निष्कर्ष छ ।

सम्मेलनमा युनेस्कोको सामाजिक र मानव विज्ञान क्षेत्रका सहायक महानिर्देशक गाब्रिएला रामोस तथा सामाजिक र मानव विज्ञान प्रमुख जुआन पाब्लोको समेत सहभागिता थियो ।