• बैशाख २२ २०८३, मंगलवार

गृहमन्त्री खाँण र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बुधबार बिहान भएको भेटमा वर्तमान राजनीतिक विषयमा छलफल भएको गृहमन्त्री निकट स्राेतले जानकारी दिएको छ ।

करिब आधा घण्टा भएको छलफलमा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दलको हैसियतले एमालेले असहमतिका कुरा शालीनतापूर्वक् राख्दै आएको तर, सत्तामा रहेकै दल वा घटकले सडक तताउन तल्लीन बनेको धारणा राखेका छन्। साथै उनले सरकारमा रहे कै दलले राष्ट्रको सम्पत्ति भत्काउने जस्ता गतिविधि आश्चर्यजनक रहेको यसप्रति सरकार गम्भीर हुनुपर्नेमा ध्यानाकर्षण गराए।

यसबाहेक सदनमा प्रवेश भइसकेका मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट् जस्ता विषयहरु अगाडि बढाउन सदनमा विरोधको अन्त्य हुनुपर्ने धारणा गृहमन्त्री खाँणले राखे । खाँणले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएकाले यसका लागि पनि सत्तापक्ष र प्रतिपक्षमा सहमतिको वातावरण बन्नुपर्नेमा जोड दिएको स्राेतले जनाएको छ।

यसअघि मंगलबार राति एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका थिए।