काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
आज मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबिच भएको भेटवार्तामा देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको एक नेताले बताए ।
प्रधानमन्त्रीले गरेको आग्रहको जवाफमा ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राख्दै सदनमा आवाज उठाइरहेको स्मरण गराए । ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने प्रधानमन्त्री समक्ष ओलीले पुनः स्पष्ट पारेका थिए ।