विराटनगर । प्रदेश १ सरकारको प्रदेश नामकरणका लागि आज मंगलबार बसेको सर्वदलीय बैठक सकिएको छ ।
मुख्यमन्त्री कार्यालयमा आयोजनामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको बैठकमा प्रदेश नं.१ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने क्रममा बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं. १ को नामकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको भए पनि सरकारका तर्फबाट सहजीकरणको सुरुवात गरिएको बताए ।
मुख्यमन्त्री राईले प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा व्यक्त गरे ।
सर्वदलीय बैठकमा नेकपा एमालेका तर्फबाट प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले आ–आफ्ना दलका तर्फबाट धारणा राखेका थिए । त्यस्तै बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता राजीव कोइरालाले आफ्ना धारणा राखे ।