काठमाडौं । रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीको विवरण संकलन गर्न सुरु गरेको छ ।
रुस र युक्रेनबीच बढ्दै गइरहेको तनावका कारण मन्त्रालयले आवश्यक परेको बेला उद्धार गर्न सहज होस् भन्ने उदेश्यले विवरण संकलन गरिएको जनाएको छ ।
‘अहिले हामी युक्रेनमा के कति नेपाली रहेका छन् भन्ने विवरण संकलन गरिरहेका छौं,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘आवश्यक परेको बेला उद्धार गर्न सहज होस् भनेर विवरण संकलन गरेका हौं ।’
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार पूर्वी युक्रेनमा सेना पठाउने निर्णय गरेपछि त्यहाँको अवस्था थप तनावपूर्ण भएको छ । पुटिनले दोनेत्स्क र लुहान्स्क मा शान्ति स्थापना गर्न सेना पठाउने निर्णय गरेका हुन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको ६ महिनामा १३५ जना नेपालीले युक्रेन जानको लागि श्रम स्वीकृति लिएका थिए ।
साउनमा २२, भदौमा २५, असोजमा २५, कात्तिकमा ११, मंसिरमा २४ र पुसमा २८ जनाले युक्रेन जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।