• बैशाख २२ २०८३, मंगलवार

मन्त्रीको भारत भ्रमणले मधेस प्रदेशसभा २ हप्ता स्थगित

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौं । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ ।

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।

साह आफैँ उक्त प्रस्तावको प्रस्तावक भएकाले छलफल हुने संकल्प प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने हुँदा प्रदेशसभा स्थगित हुन पुगेको हो । साहका अनुसार उनी पारिवारिक भ्रमणका लागि भारतको राँची पुगेका छन् ।

प्रहरी भर्नाका बारेमा प्रदेश सरकारले पहिल्यै नै सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको छ । साह भन्छन्, ‘स्वयम् म पनि बाहिर भएकाले सहमतिको आधारमा २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।’ उनी स्वदेश फर्केपछि संकल्प प्रस्तावका बारेमा छलफलको प्रक्रिया अघि बढाइनेछ ।

सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको बैठक मंगलबार अपरान्ह २.० बजे बोलाइएको थियो । गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित गरिएको थियो ।