• बैशाख २२ २०८३, मंगलवार

धरानमा जेब्रा झोलामा टाउको र खुट्टा प्याक गरेर फालिएको अवस्थामा भेटिएको शवको पहिचान

फाल्गुन १० २०७८, मंगलवार

विराटनगर। हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर जंगलमा फ्यालिएको अवस्थामा फेला परेको शवको एक सातापछि पहिचान खुलेको छ। हत्या गरिएका व्यक्ति झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दीपक सिग्देल रहेको पुष्टि भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डमा गत बुधबार उनको शव भेटिएको थियो भने बिहीबार करिब १ किलोमिटरमाथि जीउ र अन्य अंगहरु प्याक गरिएको अर्को झोला पनि भेटिएको थियो ।

कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा अलगअलग जेब्रा झोलामा शवका टुक्रा भेटिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान अघि बढाएको थियो।

उनको हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन। हत्यामा उनकै परिवारका सदस्यको संलग्नता रहेको बताइएको छ। घटनामा अरुको पनि संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको प्रहरीले बताएको छ। ।

सिग्देलको हत्या कहिले भएको थियो भन्ने यकिन हुन बाँकी छ। तर मोरङमा हत्या गरेपछि शरीरलाई टुक्राटुक्रा बनाउँदै जेब्रा झोलामा राखेर शवलाई धरानको जंगलमा पुर्‍याएर फ्यालेको पाइएको बताइएको छ। प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप प्रमाण संकलनको काम भइरहेको छ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ तथा संघीय प्रहरी इकाई कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोली खटिएको थियो। हत्यामा संलग्नलाई मोरङबाट पक्राउ गरेर सुनसरी लगेको बताइए पनि प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन।

प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।