काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई दिएका छन् ।
राष्ट्रपति भण्डारीले आज साँझ ट्विट गर्दै ओमनमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएकी हुन्।
राष्ट्रपति भण्डारीले गरिएको ट्विट यस्तो छ, “ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना” ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल क्यानडालाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आज साँझ ट्विट गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका हुन्।
प्रधानमन्त्री देउवाले ट्विट गर्दै भन्नुभएको छ, “क्यानाडाविरुद्ध जीत निकाल्दै टी– विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई। मङ्गलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुभेच्छासहित सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गर्दछु।”
आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।