• बैशाख २१ २०८३, सोमबार

एमसीसीकै कारण नेकपा एस विभाजनतिर, खनाल, रावल र गौतमले नयाँ पार्टी बनाउँदै

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एस विभाजनको संघारमा पुगेको छ । अमेरिकी एमसीसीका कारण पार्टीभित्र चर्को मतभेद थियो । हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी सदनमा टेबुल गर्न दिने निर्णय गरेलगत्तै असन्तुष्ट नेताहरुले छुट्टै छलफल सुरु गरेका थिए ।

आज सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सदनमा टेबुल गर्दै गर्दा नेकपा एसका सांसद झलनाथ खनालले उभिएर नै विरोध गरेका थिए । उनले संविधान विपरित जबर्जस्ती रुपमा संसदमा एमसीसी टेबल गरिएको भन्दै आक्रोश समेत पोखेका छन् ।

उता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले पनि एमसीसी सदनमा टेबुल नगर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरेका थिए । सञ्चारमन्त्री कार्कीले सदनमा एमसीसी प्रस्ताव पारि गर्नको लागि आग्रह गर्दैगर्दा सांसद रावलले पनि नाराबाजी गरेका थिए । उनले उभिएर नै विरोध जनाएका थिए ।

संसद बैठकबाट बाहिरिने क्रममा नेता खनालले एमसीसी सम्झौता संसदमा ल्याइनुले मुलुक नै ‘ट्रयापमा परेको’ टिप्पणी गरेका थिए । उनले भनेका थिए,‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको छ । यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ । भोलीका दिनमा अझ समस्या थपिने निश्चित छ ।’

उनले अमेरिकी दबावका कारण मुलुकमा ध्रुवीकरण बढेको भन्दै नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिनै नसक्ने बताए । ‘हाम्रो पार्टीको स्थायी कमिटी बैठकले यथास्थितिमा एमसीसी पारित हुन नदिने निर्णय गरेको छ ।’ एमसीसीलाई लिएर उनले अध्यक्ष माधव नेपालप्रति कडा आक्रोश पोखेका छन् ।

पछिल्लो समय एमसीसीको कारण नेकपा एस विभाजनको मुखमा पुगेको छ । खनालले अब माधव नेपालसँग सहकार्य गर्न नसकिने भन्दै असन्तुष्ट नेताहरुसँग छुट्टै छलफल समेत थालेको पाइएको छ । झलनाथ खनालको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्नेसम्मको परिस्थिति उत्पन्न भएकोले सोहीअनुसार गृहकार्य भैरहेको समाजवादीका एक नेताले जनाए ।

विश्वस्त्र सूत्रका अनुसार झलनाथ खनालको नेतृत्वमा नयाँ दल दर्ता भए भीम रावल, घनश्याम भुषाल, झपट रावल लगायत एमालेका थुप्रै नेता तथा सांसदहरु पनि जोडिने तयारी भएको छ । एमाले भित्रका एमसीसीका कट्टर विरोधीहरुहरुले पार्टीमा विद्रोह गर्ने तयारी गरेका छन् । एमसीसीको विषयमा एमालेले नरम नीति लिएको उनीहरुको बुझाई छ ।

खनालले एमसीसीबारे पार्टीले लिएको नीति गलत भन्दै यसको भण्डाफोर गर्ने र तत्कालै नयाँ दल गठन गर्ने तयारी गरेको स्रोतको दाबी छ । खनालको नेतृत्वमा बन्ने दलमा वामदेव गौतम पनि सहभागी हुने बुझिएको छ । गौतमले एमसीसी फिर्ता लैजानको लागि अमेरिकासँग आग्रह गर्दै आएका छन् ।