काठमाडौँ। अमेरिकाले एमसीसीको विषयलाई लिएर हुने विरोध वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएको छ ।
एमसिसीलाई लिएर नेपालभर सडकप्रदर्शन भइरहेको बेला अमेरिकाले यस्तो धारणा सार्वजनिक गरेको हो।
नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका छन् ।
‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो,’ उनले भनेका छन्, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’
