• बैशाख २१ २०८३, सोमबार

एमसिसीलाई निकास दिएर गठबन्धन बचाउनेमा हाम्रो जोड : प्रचण्ड

फाल्गुन ५ २०७८, बिहीबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसिसीलाई निकास दिने विषयमा छलफल जारी रहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा गठबन्धन बचाउने र एमसिसीलाई निकास दिने विषयमा छलफल भएको उनको भनाइ छ।

‘एमसीसीलाई कसरी निकास दिने र गठबन्धन बचाउने विषयमा छलफल भइराखेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ ।’ सत्तारुढ गठबन्धनमा रहेका माओवादी, समाजवादी पार्टीसँगै जनता समाजवादी पार्टीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो।

छलफलमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसमेत सहभागी थिए। पछिल्लो राजनीतिक घटनाक्रम र एमसिसीको विषयमा छलफल गर्न बिहीबार साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ।बिहीबार बिहान मात्र प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।