काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहयोग परियोजजा (एमसिसी) राष्ट्रहितमा रहेकाले यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने बताएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हलमा मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा एमसिसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने भनाइ आफूले बैठकमा राखेको बैठकबाट बाहिरिने क्रममा उनले बताए।
पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने ‘एमसिसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरूले पनि यसै विषयमा धारणा राखिरहनुभएको छ ।’
उनले एमसिसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताए । साथै उनले बैठकमा एमसिसी विरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरूलाई आग्रह गरेको पनि जानकारी गराए । उनले एमसिसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको पनि बताए ।
उनले एमसिसीलाई अनुमोदन गर्न ढिलाइ गर्न नहुने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि एमसिसी कार्यालयलाई पत्र लेखेर संसदबाट अनुमोदन गर्न समय माग गरेकाले सोही अनुसार यही फागुन १६ गतेभित्र अनुमोदन गरिसक्नुपर्नेमा जोड दिए ।