• बैशाख २१ २०८३, सोमबार

एमसिसी परियोजनाबारे अब एमाले बोल्नैपर्छ : भीम रावल

फाल्गुन २ २०७८, सोमबार

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसिसीबारे अब बोल्न ढिला गर्न नहुने बताएका छन्।

सोमबार काठमाडौंमा बसेको एमाले संसदीय दलको बैठकमा आफ्ना लिखित भनाइ राख्दै रावलले एमसिसीबारे एमालेले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

‘नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बीच भएको मूल सम्झौता (कम्प्याक्ट ) र त्यसको आधारमा गरिएका एक दर्जन सम्झौता एवम् कार्ययोजनाका कैयौँ प्रावधानहरू, नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको विधान र कानून विपरीत रहेको तथ्य स्पष्ट भइसकेको छ’, उनले लेखेका छन्, ‘यो विषय आम नेपाली जनताको गम्भीर चासो र सरोकारको बनिसकेकाले नेकपा (एमाले) जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ।’

उनले यसका लागि संसदीय दलमा कार्यसूची निर्धारण गरी छलफल गर्न पनि माग गरेका छन्।