नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसिसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको बताए । उनले सम्झौता मिति पर सार्दा उत्तम हुने बताए ।
‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसिसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसिसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ,’ उनले भने,सम्झौता मिति पर सारे राम्रो हुन्थ्यो, छलफल गर्न समय मिल्थ्यो । गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो । भए नभएको प्रचार भइरहेको छ । कतिपय कुरालाई सुधार गर्न मौका मिल्छ, यसको अध्ययन गरिरहेका छौं । अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । तर आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिंदैन।’
यस्तै उनले एमसीसीको गुण र दोषको आधारमा, तथ्यको आधारमा निष्कर्षमा पुग्न चाहेको बताउँदै एमसीसीबारे ७ वटा कुरामा स्पष्ट हुनुपर्ने बताए ।
यी हुन् नेपालले उठाएका ७ सवाल
पहिलो, यो इन्डोप्यासेफिक रणनीतिको अंग हो कि होइन ?
दोस्रो, यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन ? सैन्य संलग्नता छ कि छैन ?
तेस्रो, ट्रान्समिसन लाइन तलको भूभाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ कि रहँदैन ।
चौथो, निर्माणको काममा चाहिने श्रमशक्तिमा योग्यता क्षमता अनुसार नेपाली प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?
पाँचौ, त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन ?
छैठौं, त्यसको अडिटिङ गर्ने हक नेपालको अडिटर जनरलले प्राप्त गर्छ कि गर्दैन ?
सातौं, एमसीसीसँग जोडिएको कानुनको बारेमा स्पष्ट धारणा आउनुपर्छ । आफूखुशी नयाँ–नयाँ कानुन बनाउँदै जाँदा नेपालको हितमा असर गर्छ भने त्यस्तो कुरालाई स्वीकार गर्न सक्छ कि सक्दैन ?
‘यी प्रश्नहरुको समूचित जवाफ चाहिन्छ’ नेपालले भने ।