जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताएका हुन् ।
अध्यक्ष राउतले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं । नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’
जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै उनले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो। किनकि एकैदिनमा यो समस्या समाधान हुने होइन ।’
उनले यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने आफूलाई आशा नरहेको बताए । ‘अहिलेसम्म त्यही ३÷४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आए पनि एजेण्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो’उनले भने। उनले किसान आन्दोलनको ज्ञापन पत्र नलिएर विदेशीको स्वार्थको पछाडि नेताहरु दौडिरहेको आरोप लगाए।
उनले अर्को चरणको किसान आन्दोलन फागुनबाट १ गतेबाट शुरु हुने घोषणा गरे। मौसमको खराबीका कारण राजमार्ग केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै अध्यक्ष राउतले फागुन १ गतेबाट सशक्त कार्यक्रम आउने बताए ।
उनले कृषिमन्त्री मधेसकै भए पनि किसानको माग सुन्नसमेत नचाहेको जिकिर गरे। डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको भन्दै उनले आक्रोश पोखे ।
उनले किसान आन्दोलनमा उठेका माग दीर्घकालीन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनुपर्ने भएकाले आफूहरूको माग संघीय सरकारसँग रहेको बताए ।