काठमाडौँ । सरकारले वर्ड फ्लु संक्रमण रोक्नका लागि विराटनगर महानगरपालिका वडा नं. १८ लाई रोग प्रभावित क्षेत्र घोषणा गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विराटनगरको हिमालयन कृषि फार्मलाई केन्द्रबिन्दु मानी रोग प्रभावित क्षेत्र घोषणा गरेको जानकारी दिए ।
यस्तै बैठकले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने तथा मध्य पहाडी राजमार्ग आयोजना कार्यालय गोरखाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोट जिल्लाको सडक सीमाभित्र परेका घर–टहराको क्षतिपूर्ति उपलब्ध गराउने पनि निर्णय गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय प्रसारण एघारौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, डिजिटल प्रणाली मार्फत नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहु क्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले सिंगापुर, इटाली र रोमानियामा कार्यरत अवैतनिक नेपाली महावाणिज्य दूतहरूका पदावधि थप गर्ने, तथा बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसङ्घमा पेश गर्न अनुमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त परामर्श तथा स्थानीय तह निर्वाचन ऐन बमोजिम विक्रम सम्वत् २०७९ साल वैशाख ३० गते शुक्रवारका दिन देशभर एकै चरणमा स्थानीय पालिकाहरूको निर्वाचन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।