काठमाडौं । विगत ६ महिनायता तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच गहिरिँदै गएको विवादले अन्ततः पार्टी विभाजन गराएरै छाड्यो । त्यस्तै जसपा आधिकारिकता गुमाएका नेता महन्थ ठाकुर पनि विभाजनबाट विमुख हुन सकेनन् ।
सर्वोच्च अदालतले एमाले ब्युँत्याएसँगै चर्किएको ओली र नेपालको विवादले अन्ततः पार्टी नै विभाजन भएको छ । २०७७ फागुन २३ गते सर्वोच्चले एमाले ब्युँत्याए पश्चात् अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच विवाद सुरु भएको थियो । त्यसयता ओली र नेपालको आन्तरिक रूपमा चर्किँदै गएको विवाद समाधानका लागि दुवै पक्षका दोस्रो वरियताका नेताहरूले सक्रियता देखाए । संघीय राजधानी काठमाडौंका केही होटल चहारेका उनीहरूले ओली र नेपालको अनौपचारिक भेटवार्ता गराए । तर, शीर्ष नेताद्वय ओली र नेपालको उक्त भेटवार्ताले पार्टी एकतालाई जीवन दिन सकेनन् ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)भित्र पनि लामो समयदेखि विवाद चर्किँदै गएपछि साउन ११ गते निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि महन्थ पक्ष पार्टीविहीन अवस्था हुन पुगेको थियो । आयोगले पार्टी आधिकारिकता उपेन्द्र पक्षलाई दिएपछि महन्थ ठाकुर पक्षले नयाँ पार्टी खोल्ने या जसपाभित्रै रहने विकल्प भने खुल्ला गरिदिएको थियो ।
तथापि महन्थ पक्षले यो बीचमा नयाँ पार्टी खोल्नलाई कानुनी बाधा हुने भएकाले पार्टी दर्ता गर्न सकेको थिएन । किनकि अध्यादेश ल्याउनुपूर्व उसले नयाँ दल दर्ता गरेको भए उनी पक्षमा उभिने सांसद कानुनी रूपमा पदमुक्त हुन्थे । किनकि राजनीतिक दलसम्बन्धी ऐनमा दल त्याग गरेको सूचना दिनासाथ पदमुक्त हुने व्यवस्था गरिएको छ । संविधान तथा कानुनीविद्ले जसपामै रहेको खण्डमा सांसद पद जोगिने तर, नयाँ दल दर्ता गरि सोही दलमा आवद्ध भए स्वतः पदमुक्त हुने बताएका थिए । सांसद पद जोगाउनकै लागि भएपनि उसले केही महिना नयाँ दल दर्ता गर्न सकेको थिएन ।
त्यसपछि प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धन सरकारले भदौ २ मा अध्यादेश ल्यायो । र, त्यसकै बलमा तत्कालीन जसपा अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे । त्यसयता जसपा सरकारमा सहभागी छ भने लोसपा मधेस केन्द्रित छ । मधेस केन्द्रित भएको देखेर जसपाका नेता तथा कार्यकर्ता पनि मधेस केन्द्रित भएका छन् ।
वर्ष दिनको एकचोटी आउने दशैँमा पनि जसपा र लोसपा नेता कार्यकर्ता फकाउन मधेस झरेका छन् । यी दुई पार्टीको आधार नै मधेस हो । यतिबेला मधेसमा आफूहरू नपुगे आफ्नो शक्ति कमजोर हुने जसपा र लोसपाको शंका छ । यसर्थ आफ्नो शक्तिलाई थप बल दिन उनीहरू मधेस झरेका छन् ।
यतिबेला दशैँ तिहार मनाउन अधिकांश नेता मधेसतिरै छन् । यही मौकामा जसपाका अध्यक्ष उपेन्द्र यादव एक हप्तादेखि मधेसमै छन् । यादव अझै एक हप्तासम्म मधेसमै बस्ने कार्यक्रम रहेको यादव निकट नेता बताउँछन् । यसैगरी पार्टीबाट प्रतिनिधित्व गरेका ३ मन्त्री महेन्द्र यादव, रामसहाय यादव र रेणु यादव दशैँको बेला मधेसमा बसे । अहिले पनि उनीहरू आ-आफ्नो चुनावी क्षेत्रमा नेता कार्यकर्ता रिझाउनमै व्यस्त छन् ।
यद्यपि केन्द्रमा पार्टी गठन भए पनि लोसपाका प्रदेश तथा जिल्ला समितिहरू अझै बनेका छैनन् । प्रदेश समिति तथा जिल्ला समिति बनाउन जसपाका स्थानीय नेताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउनु पर्ने वाध्यता लोसपामा छ । तर, जसपाका प्रदेश, जिल्ला तथा गाउँ समितिहरू पहिले नै बनिसकेका छन् । त्यसैले प्रदेश तथा जिल्ला समिति बनाउनु पर्ने बाध्यता जसपाका नेताहरूमा छैन ।