काठमाडौं । हिन्दुहरूको महान पर्व बडा दशैँको पूर्वसन्ध्यामा राजनीतिक दलका शीर्षस्थ नेताहरू के गर्दैछन् भन्ने विषय सर्वत्र चासोको बन्ने गर्छ । उनीहरूले सर्वसाधारणको जस्तै गरी चाडपर्व मनाउँछन् वा बेग्लै ढंगले मनाउँछन् ? यो आमसर्वसाधारणमा चासोको विषय बन्ने गर्दै आएको छ । तथापि अघिल्ला वर्षहरूमा उनीहरूले जे-जसरी चाडबाड मनाए पनि यो पटक भने पार्टीका शीर्ष नेताले आ-आफ्नै तवरले मनाउने भएका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटक दशैँ नमनाउने बताएका छन् । हरेक वर्ष हर्ष उल्लासका साथ दशैँ/तिहार मनाउने ओलीले यसपालि नमनाउने भएका हुन् । उनको आफन्त बितेको वर्ष दिन पूरा नभएकोले यसपालि टीका नलगाउने यसअघि नै बताइसकेका छन् । अघिल्ला वर्षका दशैँ/तिहारमा मान्यजनबाट टीका ग्रहण गर्ने, आफ्नो सचिवालयमा आउने जो सुकैलाई टीकाटाला लगाइदिने ओलीले यसपटक त्यसो गर्ने छैनन् ।
आफ्नो संस्कार/संस्कृतिप्रति मोह दर्शाउने ओलीका आफन्तको निधनकै कारण यस वर्ष उनको दशैँ न्यास्रो हुने सचिवालय स्रोतले बताएको छ । हिन्दु संस्कार अनुसार आफ्नो कुलमा कुनै आफन्तको निधन भए वर्ष दिनसम्म दशैँ/तिहार लगायत अन्य पर्व पनि नमनाउने प्रचलन छ । सोहीबमोजिम ओलीले यस पटकको दशैँ र तिहार नमनाउने भएका छन् । बरु उनले यो पर्वको अवसरमा दुःखलाई ह्रृदयगम गर्दै अध्ययनलाई निरन्तरता दिने बताइएको छ । एमाले अध्यक्ष ओलीको काकाका छोराको यसै वर्ष निधन भएको छ ।
ओली आज (बिहीबार) आफ्नो गृहजिल्ला झापामा आयोजना गरिने चियापान कार्यक्रममा सहभागी भएका छन् । उनले झापामा दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडवर्षहरूको उपलक्ष्यमा हरेक वर्षझैँ यस पटकको महानवमीमा पनि शुभकामना आदानप्रदान गरेका छन् । यसका लागि उनी आज झापा पुगेका हुन् । त्यसैगरी बिहीबार नै झापाबाट फर्केपछि टीकाको दिन खास भेटघाटको कार्यक्रम नराखिएको र टीकाको भोलिपल्टबाट कार्यकर्तासँग भेटघाट गर्ने सचिवालयले जनाएको छ । एमाले झापा जिल्ला कमिटीले विगत २७ वर्षदेखि यता चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
त्यसैगरी अर्का पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दशैँ/तिहारप्रति मौह भए पनि टीका भने लगाउँदैनन् । तथापि उनका अन्य आफन्तले भने टीकाटाला लगाउने बताइएको छ । प्रचण्डले टीका नलगाए पनि आफन्तसँग रमाइलो गर्ने उनको सचिवालयले बताएको छ ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार, ‘उनले टीका नलगाए पनि आफन्तसँग रमाइलो गर्ने र टीकाको भोलिपल्टदेखि नै नेता/कार्यकर्तासँग निरन्तर भेटघाट र छलफलमा व्यस्त हुनेछन् ।’ ‘पार्टीगत कार्यक्रम तथा अन्य सार्वजनिक कार्यक्रमहरू प्याक भएकोले त्यहीँ अनुसार समय तालिका तय गरिएको छ । सोहीबमोजिम कार्यक्रमहरूका लागि अध्यक्ष कमरेड तयारीमा हुनुहुन्छ,’ भन्छन् उनका प्रेस सल्लाहकार सापकोटा ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यो पटक दशैको टीका लगाउने या नलगाउने निश्चित नभैसकेको बताइएको छ । नेपालका गाउँले दाइको यसै वर्ष आकस्मिक निधन भएकोले टीका लगाउने वा नलगाउने अझैँ टुंगो नलागेको उनका स्वकीय सचिव मोहन गौतमले बताए । सल्लाहकार गौतमका अनुसार, ‘यदि टीका नलगाउने नै भए पनि नेता/कार्यकर्तासँग भेटघाट र छलफल जारी रहने छ ।’ ‘नवगठित पार्टी भएकोले यसको सांगठानिक एवम् पार्टीगत कार्यात्मक कार्य नटुंगिएकाले अध्यक्ष कमरेड यसमै व्यस्त रहनुहुनेछ,’ गौतम भन्छन् ।
धार्मिक चेत भएका शान्त, शालीन स्वभावका नेता नेपाल आफ्नो धर्म, संस्कार र संस्कृतिप्रति बिछट्टै मोह राख्छन् । उनले यसअघिका चाडवर्ष निकै महत्वका साथ मनाउँदै आएका थिए । आफ्ना मान्यजन र अग्रजको हातबाट टीका ग्रहण गर्ने अध्यक्ष नेपालले यसपटक आफन्तको मृत्युका कारण टीका लगाउने वा नलगाउने निश्चय नभैसकेको सचिवालयले बताएको छ ।