• बैशाख २६ २०८३, शनिबार

बँदेल मार्न लगाइएको करेन्ट लागेर सहोदर दाजूभाईको मृत्यु

श्रावण २१ २०७८, बिहीबार

बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ ।

सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

‘जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ,’ उनले भने ।

करेन्ट लाग्ने बित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै सहोदर दाजुभाइ हुन् । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ ।

जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ ।