• बैशाख २६ २०८३, शनिबार

संगठित अपराध ४६ प्रतिशतले घट्यो, बलात्कार १८ प्रतिशतले बढ्यो

श्रावण १९ २०७८, मंगलवार

काठमाडौं । आर्थिक वर्ष ०७७/०७८ मा बलात्कारका घटना अघिल्लो वर्षभन्दा १८ प्रतिशतले बढेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकले बलात्कारका घटना बढेको देखाएको हो । आर्थिक वर्ष ०७७/०७८ मा अपराधका ४० हजार १२० घटनाहरु दर्ता भए । नेपालमा दैनिक अपराधका घटना ११० वटा भएको यो तथ्यांकले देखाउँछ । तर, आर्थिक वर्ष ०७६/०७७ भन्दा पछिल्लो आर्थिक वर्षमा ४.२४ प्रतिशतले अपराधमा कमी आएको प्रहरी तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा कर्तव्य ज्यानसम्बन्धी ६९७ वटा मुद्दाहरु दर्ता भएका छन् । यो ०७६/७७ मा दर्ता भएको घटनाभन्दा २५.५८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्याका सात हजार ११७ वटा घटनाहरू भएका छन् । ०७६/७७ को तुलनामा आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्या सम्बन्धी घटनाहरूमा १४.४ प्रतिशतले वृद्धि भएको छ । यो तथ्यांक विश्लेषण गर्दा नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा जबर्जस्ती करणीका दुई हजार ५३४ घटनाहरू दर्ता भएका छन् । यो आर्थिक वर्ष ०७६/०७७ को तुलनामा १८.१९ प्रतिशतले बढी हो । यो तथ्यांक विश्लेषण गर्दा नेपालमा दैनिक सातजना बलात्कृत हुने गरेको देखिन्छ ।
आर्थिक वर्ष ०७७/०७८ मा जबर्जस्ती करणी उद्योगका ७३५ वटा घटनाहरू दर्ता भएका छन् । यो ०७६/०७७ को तुलनामा ६.९९ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष ०७७/०७८ मा चोरीका घटनाहरु दुई हजार ३८२ वटा दर्ता भएका छन् । यो ०७६/०७७ मा भन्दा २.८२ ले कम हो ।
बैंकिङ कसुरसम्बन्धी अपराधका मुद्धाहरुमा पनि आर्थिक वर्ष ०७७/०७८ मा २८.२९ प्रतिशतले कमी आएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, लागुऔषध जस्ता कसुरहरु आर्थिक वर्ष ०७६/०७७ मा भन्दा ०७७/०७८ मा बढेका छन् ।

मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, चोरी, सार्वजनिक शान्तिविरुद्धको कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर, बैंकिङ कसुरजस्ता अपराधहरु आर्थिक वर्ष ०७६/०७७ मा भन्दा ०७७/०७८ मा घटेका छन् ।
आर्थिक वर्ष ०७७/०७८ मा संगठित अपराधका घटनामा अघिल्लो वर्षभन्दा ४६ प्रतिशतले कमी आएको छ ।