प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको हो ।
पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै नेता नेपालले अहिले नै सरकारमा सहभागी हुन अनिक्षा व्यक्त गरेको जनाउँदै त्यस्तो अवस्थामा कांग्रेसले आठ, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट सातरसात मन्त्री बन्नेछन् ।
बाँकी तीन स्थानमा नेता नेपालनिकट रहेका तर स्वतन्त्र हैसियतका नेताहरु मन्त्री बन्ने निकटहरूको दाबी छ । ‘आइतबार बिहान संख्या र मन्त्रालय टुंगो लाग्छ,’ एक नेताले भने, ‘सत्तारूढ दलहरुले आ–आफ्नो पार्टीबाट सरकारमा सहभागी गराउने नेताको गृहकार्य गरिरहेका छन् । सकेसम्म आइतबार नभए सोमबारसम्म सरकार विस्तार हुनेछ ।’
कांग्रेसबाट विस्तारित मन्त्रिपरिषद्मा पुष्पा भुसाल सहभागी हुने निश्चित रहेको दाबी गर्दै नारायण खड्का, मानबहादुर विक, किशोरसिंह राठोर, बहादुरसिंह लामासहितका नेता सक्रिय छन् ।
त्यस्तै, संस्थापन इतर पक्षबाट देउवाले नेता रामचन्द्र पौडेलसँग दुई नेताको मात्र नाम मागेको स्रोतको दाबी छ । त्यसमध्ये पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री सहित सरकारमा सहभागी गराउन देउवाले चाहेको बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।