काठमाडौं । अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महाकाली नदीमा तुइनबाट नदी तर्दै गर्दा भारतीय सिमा प्रहरी एसएसबीले तुइनको डोरी काटिदिएका कारण दार्चुलाका जयसिंह धामी महाकाली नदीमा डुबेर बेपत्ता भएको समाचारले आफ्नो संगठन स्तब्ध भएको जनाएको छ ।
केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा आज जारी विज्ञप्तिमा यस्तो जनाइएको हो । केसीले विज्ञप्ति मार्फत् सो घटनामा संलग्नलाई कडाभन्दा कडा आरवाही गर्न माग पनि गरेका छन् ।
हिजो (शुक्रबार) २०७८ साउन १५ गते दार्चुला जिल्ला, व्यास गाउँपालिका वडा नम्बर २ मालघाटका स्थास्थानीय ३३ वर्षीय जयसिंह धामीले तुइनबाट महाकाली नदी तरेर भारतको पिथौरागढ पांगल जाने सिलसिलामा उक्त महाकाली नदीमा तुइनबाट नदी तर्दै गर्दाको अवस्थामा भारतीय सिमा प्रहरी एसएसबीले उक्त तुइनको डोरी काटिदिए पछि धामी महाकाली नदीमा डुबेर बेपत्ता भएको समाचार आएको थियो ।
धामीलाई तुइनको डोरी काटेर महाकाली नदीमा खसालेर ज्यान बेपत्ता पार्ने भारतीय सिमा सुरक्षा प्रहरी एसएसबी अन्तर्गतका दोषीलाई तुरुन्त खोजी कडाभन्दा कडा कार्वाही गर्न जताततै माग उठेको छ ।