काठमाडौँ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा साउन २० गतेसम्म थप गरिएको छ ।
आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा साउन २० गतेसम्मका लागि थप गरेको हो ।
भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन नपाइने भनिएको छ ।
खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी कुनै पनि शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति नदिइने भनिएको छ ।
यसैगरी स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन। निषेधाज्ञामा साबिककै नियमहरु लागू गरिएको छ ।
साउन १० सम्म जारी गरिएको निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको छ । साउन १० गतेबाट जारी निषेधाज्ञा आज आइतबार राति १२ बजे सकिँदैछ।