काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने जनाउदै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने जनाएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपद्को घटना कहालीलाग्दो हुनसक्ने बताए ।
उनले भने, ‘पोहोरभन्दा यसपाली झन् गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नुपर्यो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानी पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना पनि बढ्ने देखेका छौं ।’
पोखरेलले जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने बताए । जोखिमका बस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय सुरु गर्नुपर्छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी सुरु गरौं ।’