• बैशाख १९ २०८३, शनिबार

झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कोरोना संक्रमितका लागि दुई सय बेड सञ्चालन

बैशाख २६ २०७८, आईतवार

झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० बेड सञ्चालनमा ल्याएको छ ।

प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका संक्रमितलाई धमाधम बीएण्डसी पु¥याउने क्रम जारी रहेपछि अस्पतालले बेड थप गरेको हो । संक्रमितलाई उपचार गर्न सो संख्यामा बेड सञ्चालनमा आएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाका बिरामीको चाप अस्पतालमा वृद्धि भएसँगै बेड थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।’

मौज्दात रहेका ६५ भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसीयू)मध्ये गम्भीर संक्रमितका लागि ५० बेड छुट्याउने र ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले २५ बेड मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी अस्पताल गरी कुल ९०० बेड रहेको छ ।

विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत १० सङ्क्रमितमध्ये ८ जना आइतबारदेखि भेन्टिलेटरमुक्त हुने र अन्य दुई जना पनि खतरामुक्त रहेका जनाइएको छ । अस्पतालले हालसम्म भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसीईयू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।