काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले सत्तारुढ दल नेकपा एमालेका शिर्ष नेताहरुलाई मेलमिलाप गरेर नयाँ राजनैतिक संस्कृतिको थालनी गर्न सुझाव दिएका छन् ।
सिंगो राष्ट्र र नागरिकको जनजीवन कोभिड – १९ महामारीले आक्रान्त पारेको र देशको अर्थतन्त्र थला परेको अबस्थामा सबैभन्दा बढी जनादेश प्राप्त दललाई आन्तरिक द्धन्दमा समय बिताउने छुट हुँदैन भन्दै अध्यक्ष ढकालले क्षमा, प्रेम र एकताको मार्गचित्र अनुशरण गर्दै मुलुकलाई निकास दिन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र शीर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनाललाई आग्रह गरेका छन् ।
ढकालले कठिन समयमा आफु हारेर पनि देश र र जनतालाई जीताउने नेतृत्व नै इतिहासले कदर गर्ने बताउदै यो अवसर एमालेका शिर्ष नेतृत्वलाई प्राप्त भएकोले खेर नफाल्न पनि आग्रह गरे ।
स्मरणीय छ, नेपाल परिवार दलले नेकपा एमालेसंग ३ बुँदे सहमति गरी गत निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लडेको थियो ।