काठमाडौँ /
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको मृत्यु भएको छ। केहीदिन पहिलेदेखि छातीको उपचार गराइरहेका प्रधानको बिहीबार निधन भएको संगीतकार लक्ष्मण शेषले सामाजिक संजालमा जानकारी दिएका छन् ।
उनलाई छातीमा संक्रमण भएपछि काठमाडौँको सुन्धारा स्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।
प्रधानका घुम्तीमा नाउ है, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ देखुँ, नमान लाज यसरी लगायत गीतहरु अजर अमर रहेका छन्। उनलाई पहिलो नेपाली पार्श्व गायकको रुपमा समेत चिनिन्थ्यो।
सांगीतिक माहोल भएको घर सिन्धुपाल्चोकमा विसं १९९४ सालमा उनको जन्म भएको थियो। उनका बुवाको नाम रत्नध्वज प्रधान र आमाको नाम प्राणदेवी प्रधान थियो। उनका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका अनुरागी थिए।
आजै न्युरो अस्पतालमा उनको श्रद्दान्जली गरिने पनि संगीतकार शेषले बताए।