काठमाडौँ /
सामुदायिक वन उपभोक्ता महासँघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाई सामुदायिक वनको काठ दाउरा संकलन तथा विक्री वितरण ओसार पसार खुल्ला गरिदिन अनुरोध गरेको छ।
वैज्ञानिक वन व्यवस्थापन कार्यविधी खारेज भइसक्दा समेत सामुदायिक वनबाट संकलन गरेका काठ दाउराको सदुपयोग तथा बिक्रि वितरण गर्ने बारेमा मन्त्रिपरिषदबाट हालसम्म कुनै निर्णय नभएकोले एकातर्फ उक्त काठ दाउरा सडीगली वा आगलागी भई नॆपाल सरकारलाई उपलब्ध हुने राजस्वमा ठुलो नोक्सानी भएको र अर्कातर्फ सामुदायिक वन उपभोक्ता र सर्वसाधारण जनताले समेत पहुँच प्राप्त गर्न नसकी घर गोठ निर्माण तथा मर्मत सम्भारमा समस्या उत्पन्न भएको,घरकाजका लागि चाहिने काठ दाउराको चरम अभाव भएको र काठ दाउरामा आधारित वन उद्यमा संचालनमा समेत समस्या उत्पन्न भएकोले यस बिषयमा नेपाल सरकार,मन्त्रिपरिषदबाट सामुदायिक वनको काठ दाउरा कटान, संकलन बिक्रि वितरण र ओसार पसारमा लगाइएको प्रतिबन्ध हटाई वन सम्बन्धी प्रचलित कानुन अनुसार स्वीकृत भएका कार्ययोजना बमोजिम कटान गरिएका काठ दाउरा वन सम्बन्धी प्रचलित कानुन बमोजिमको प्रकृया अबलम्बन गरि संकलन,सदुपयोग तथा बिक्रि वितरण र ओसार पसार खुला गर्ने र सामुदायिक वनको कार्ययोजना बमोजिम दीगो विकास गर्ने बारे निर्णय गर्न भनेर महासँघले प्रधानमन्त्रीलाई पत्र पठाएको हो।
महासँघले २०७७।१०।१४ गते वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी कार्यबिधी खारेज गर्ने र वैज्ञानिक वन बाहेकका सामुदायिक वनको काठ दाउरा संकलन तथा सदुपयोग खुला गर्ने निर्णय गरेकोमा नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएको छ। महासँघको केन्द्रिय अध्यक्ष भारती पाठकद्वारा हस्ताक्षरित साथै प्रेषित पत्रमा सो कुरा बताइएको छ।
